मंगलबार, २० असोज २०८३ | १२:२८ PM
संवेदनशील सूचना चुहाउनेलाई कानूनको कठघरामा ल्याइने : गृहमन्त्री गुरुङ

संवेदनशील सूचना चुहाउनेलाई कानूनको कठघरामा ल्याइने : गृहमन्त्री गुरुङ

लगानीबक्स सम्वाददाता २० असोज २०८३ १२:१३ अपराह्न

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायबाट गोप्य र संवेदनशील सूचना चुहिने प्रवृत्तिप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मन्त्रालयभित्र पदीय हैसियतको दुरुपयोग गरी संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुग्ने घटनालाई आफूले लामो समयदेखि नियालिरहेको बताएका हुन्।

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीको विषय भएको उल्लेख गर्दै पदले सूचनामा पहुँच प्रदान गरे पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने स्पष्ट पारे। उनले सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले अपराध नियन्त्रण, अनुसन्धानको प्रगति तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्। “आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,” गृहमन्त्री गुरुङले बताएका छन्।