सिमरा (बारा), २० असोज – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा सञ्चालित विश्वविद्यालयहरूले एउटै प्रकृतिका विषयमा केन्द्रित नभई आ–आफ्नो विशिष्ट पहिचान र विशेषज्ञता विकास गर्नुपर्ने बताए।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको विस्तारभन्दा पनि विशिष्टीकरण, गुणस्तर र उद्देश्यअनुरूपको शैक्षिक कार्यक्रम विकासमा जोड दिनुपर्ने बताएका छन् ।
विश्वविद्यालयहरूको उद्देश्य र कार्यशैलीमा विविधता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “हामीसँग अहिले सङ्घीय सरकारअन्तर्गत १५ वटा विश्वविद्यालय छन्। १५ वटै विश्वविद्यालयको आफ्नो–आफ्नो भिजन र कुनै न कुनै विशेष पहिचान हुनुपर्यो। नत्र सबै विश्वविद्यालयमा एउटै विषय, जस्तै इन्जिनियरिङ, मात्रै पढाउने हो भने १५ वटा विश्वविद्यालय खोल्नुको अर्थ के रह्यो?”
मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा निर्धारण गरिएको मूल उद्देश्यअनुसार नै त्यसको शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए।
उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयको उदाहरण दिँदै भन्नुभयो, “लुम्बिनी बौद्ध विश्वविद्यालयमा विश्वभरबाट, विशेषगरी बुद्ध धर्मसँग जोडिएका देशहरूबाट विद्यार्थीहरू अध्ययनका लागि आउन सक्ने सम्भावना छ। तर पछिल्लो समयमा विश्वविद्यालयले आफ्नो मूल उद्देश्यसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयहरू पनि सञ्चालन गरिरहेको पाइयो। एभिएसन र ड्रोनसम्बन्धी विषयहरू पनि पढाइरहेको रहेछ। जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो, त्यही उद्देश्यअनुसार अघि बढ्नुपर्छ।”
विश्वविद्यालयहरूले जथाभावी सम्बन्धन विस्तार गर्ने प्रवृत्तिमा समेत पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो। सम्बन्धनको अनियन्त्रित विस्तारले विश्वविद्यालयको व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत समस्या सिर्जना गरेको उनको भनाइ थियो।
मन्त्री पोखरेलले विश्वविद्यालयहरूले प्राप्त शैक्षिक स्वायत्तताको सही उपयोग गर्दै स्थानीय आवश्यकता, राष्ट्रिय प्राथमिकता र श्रम बजारको मागअनुसार फरक–फरक तथा विशिष्ट शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
‘धेरै विश्वविद्यालय खोलेर मात्रै हुदैन । विशिष्टिकृत विश्वविद्यालय बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।
