काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नियमित रुपमा सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि विद्यालयका सवारी साधनको नियमित प्रदूषण परीक्षण भइरहेको छ।
यसक्रममा हिजो र आज गरी दुईवटा विद्यालयका ३५ वटा सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ। परीक्षणका क्रममा दुईवटा सवारी साधन प्रदूषण मापदण्डमा असफल भएका छन् भने बाँकी ३३ वटा सवारी साधन मापदण्डअनुकूल अवस्थामा रहेको पाइएको छ।
यसका साथै, विद्यालयमा विद्यार्थी ओसारपसार गर्ने सवारी साधनको अवस्था, प्रदूषणको स्तर तथा सवारी साधनको नियमित मर्मतसम्भारलगायतका विषयमा समेत निरीक्षण गरिएको छ।
प्रदूषण परीक्षणसँगै विद्यालयका बालबालिकालाई सवारी साधनबाट हुने वायु प्रदूषण, यसको असर तथा प्रदूषण न्यूनीकरणका उपायबारे जनचेतनामूलक प्रशिक्षण समेत दिइएको छ।
मन्त्रालयले विद्यालयका सवारी साधनलाई नियमित रूपमा प्रदूषण परीक्षण गराउने, सवारी साधनको उचित मर्मतसम्भार गर्ने तथा विद्यार्थीलाई वातावरणीय प्रदूषणबारे सचेत बनाउने कार्यलाई निरन्तरता दिएको छ ।
