काठमाडौं । प्रभु बैंक लिमिटेडले पनि अविमोच्य असञ्चिति अगाधिकार शेयर जारी गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८ दशमलव ५० प्रतिशत निश्चित ब्याजदर कायम रहने गरी यस्तो शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ अर्ब बराबरको ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय भएको हो । कम्पनीले विशेष साधारण सभा तथा नेपाल राष्ट्र बैंकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी यी शेयर जारी गर्ने बताएको छ । यस्तो शेयर विक्री भने व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तामा मात्र हुनेछ ।
यस्तो शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले हालसम्म ६ कम्पनीहरुलाई अनुमति दिइसकेको छ । नबिल बैंक,कामना सेवा विकास बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई बोर्डले यस्तो प्रकारको शेयर जारी गर्न अनुमति प्रदान गरेको हो । हाल प्रभु बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २९ लाख ९० हजार रुपैयाँ छ। सर्वसाधारण लगानीकर्तामा अधितम १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गरेको इतिहास बोकेको यस कम्पनीले अग्राधिकार शेयरधनीहरुमा निश्चित ८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको हो ।
कम्पनी सञ्चित नाफामा रहेको खण्डमा मात्र अग्राधिकार शेयरधनीहरुलाई निश्चित गरिएको लाभांश वितरण हुने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा आर्थिक वर्ष ०७८।७९ पछि लाभांश वितरण गरेको छैन् । तीन आर्थिक वर्ष सर्वसाधारण लगानीकर्ताको हात खाली बनाउँदै आएको यस बैंकले अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको हो ।

