काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सुविधा प्राप्त गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ ।
यसअघि २०८३ असोज मसान्तसम्म रहेको म्याद बढाएर पुस मसान्तसम्म कायम गरिएको हो । २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार उक्त म्याद थप गरिएको हो । सम्बन्धित कानूनले तोकेको समयभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
त्यस्ता कम्पनीले कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तिर्नुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरेमा सोभन्दा अघिदेखि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ ।

