काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग पाउने भएको छ ।हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यस विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्डबीच भएको भेटमा छलफल भएको छ । भेटका क्रममा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने तथा नेपाली प्याभिलियन व्यवस्थापनमा सहयोग गर्ने विषयमा समेत छलफल भएको छ।
कोप–३१ को तयारीसँगै हानिनोक्सानी कोषबाट उपलब्ध हुने भनिएको सहयोग रकम प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलका विषयमा भेटवार्ता केन्द्रित रहेको थियो ।
