Ad
आइतबार, १३ मंसिर २०८३ | ५:१४ PM
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस्: डा.शंशाक

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस्: डा.शंशाक

लगानीबक्स सम्वाददाता १३ मंसिर २०८३ ५:०६ अपराह्न

सुर्खेत । नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोईरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आईतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोईरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टीप्पणी गर्न जरुरी नरहेको बताएका डां कोईरालाले मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको प्रष्ट पारे ।

कांग्रेसका पूर्व महामन्त्री समेत रहेका उनले भने–“शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो । यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस् । मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ। ”

कांग्रेसमा जबरजस्त आफैलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा. कोईरालाले यी घटनामा अनेकन प्रपञ्च थिए भन्ने पनि प्रष्ट रहेको बताए । “यो संयोग मात्र थिएन यसमा अनेकन प्रपञ्चहरु थिए भन्ने प्रष्ट छ । विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरित गरिएका षड्यन्त्रहरु देशका लागि र पार्टीका लागि घातक हुन्। अहिलेलाई म यति मात्र भन्न चाहन्छु ।”–सम्बोधनका क्रममा डा. कोईरालाले भने ।

यही मंसीर २१ गतेदेखि हुन लागेको १५ औं महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहासको नयाँ आयामको रुपमा लिएको जनाउँदै उनले कर्णाली सहितका हरेका प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेण्डाका रुपमा स्थापित गर्ने पार्टीको भावि कार्ययोजना र नीति रहेको बताए । “देशलाई राजनीति निकास दिने सिद्धान्त र आर्दश हामीसँग छ । देशलाई समृद्धि बनाउन योजना र दृष्टिकोण पनि हामीसँग छ । कर्णालीलाई प्रकृतिले दिएको अथाह संभावनालाई सदुपयोग गर्ने क्षमता पनि कांग्रेससंगै छ ।”–कोईरालाको भनाई छ ।

कर्णाली प्रदेशमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिएका डा. कोईरालाले यो प्रतियोगिताले पनि कर्णालीलाई खेलका माध्यमबाट थप धेरै संभावनाको ढोका खोलेको बताए । कर्णालीको संघर्ष र सम्भावनालाई नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ भन्दै कोईरालाले त्यहाँका नागरिकको आवाजलाई राष्ट्रिय राजनीतिमा बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।