काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न सिंहदरबारमा आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुख (मेयर) हरूबीच चर्काचर्की भएको छ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूसँग फोहोर व्यवस्थापनका विषयमा छलफल आयोजना गरेका थिए। उक्त बैठकमा सहभागी सांसद तामाङले बञ्चरेडाँडाको समस्याप्रति स्थानीय सरकार गम्भीर नभएको आरोप लगाएपछि वातावरण तनावग्रस्त बनेको थियो।
छलफलका क्रममा सांसद तामाङ र जनप्रतिनिधिबीच भनाभन भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित अन्य सहभागीले स्थिति साम्य पार्न प्रयास गरेका थिए। तर सांसद तामाङ थप आक्रोशित बनेकी थिइन्।
मेयर महर्जनले “त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?” भन्दै प्रश्न गरेपछि सांसद तामाङले “आउनु पर्यो नि” भन्दै प्रतिवाद गरेकी थिइन्। त्यसपछि महर्जनले “आउँदै हुनुहुन्छ त” भनेका थिए।
लगत्तै सांसद तामाङले “बञ्चरेडाँडाका मान्छे होइन ?” भन्दै प्रश्न उठाएकी थिइन्। उनले अहिलेसम्म स्थानीय सरकारले समस्याप्रति आँखा चिम्लिएको आरोप लगाउँदै भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनीसमेत दिएकी थिइन्। चर्काचर्कीबीच सांसद तामाङ बैठक छाडेर बाहिरिएकी थिइन्। बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषय पछिल्लो समय पुनः विवादको केन्द्रमा रहेको छ।
