शुक्रबार, २६ भदौ २०८३ | ८:४० PM
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी…

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी मौज्दात

लगानीबक्स २३ भदौ २०८३ ७:३९ अपराह्न

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।

डलर खातामा रहेको रकमलाई प्रतिडलर १५० रुपैयाँ ८८ पैसाका दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।

रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीपछि राहत कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ। उक्त रकम विपद् आउनुअघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँभन्दा बाहेकको संकलन हो।

भदौ २३ गते मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर थप रकम प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि भदौ १६ गते राहत तथा उद्धार कार्य सञ्चालनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो।

अर्थ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउन स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्ने व्यक्ति, संस्था तथा निकायप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले राहत कोषमा सहयोग गर्न इच्छुकलाई आधिकारिक पोर्टलमार्फत योगदान गर्नसमेत आग्रह गरे ।