काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का सचिव तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्।
सचिव पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेका हुन्। उनले भदौ २५ गते बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आफूले व्यक्तिगत रूपमा रकम उपलब्ध गराएको पौडेलले बताए।
उनले बाढीपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले चालेका प्रयासमा साथ दिन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देश तथा विदेशमा रहेका नेपालीसहित विभिन्न संघसंस्था र सरोकारवाला पक्षलाई पुनर्निर्माण तथा पुनर्स्थापनामा खुलेर सहयोग गर्न आह्वान गरेका छन्।

