काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सरकारले चालेका कदमहरूको प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले प्रशंसा गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिनिधिसभाका सदस्यहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढीलगत्तै संघीय सरकारले स्थानीय तहसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाएको बताएका छन्। प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रधानमन्त्रीले प्रत्यक्ष संवाद गरेको कदमलाई पनि उनीहरूले सकारात्मक बताएका छन्।
जनप्रतिनिधिहरूले प्रभावित नागरिकहरूको पुनर्स्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिको खोजी, महामारी रोकथाम तथा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
साथै, बाढी प्रभावित तटीय क्षेत्रमा हरियाली विकास गर्दै सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको कामलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

