काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएममार्फत १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट १ हजार र ५०० रुपैयाँका नोट मात्र वितरण भइरहेको अवस्थामा १०० रुपैयाँका नोट पनि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार ग्राहकबाट एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्नुपर्ने माग समय–समयमा आउने गरेको छ। साथै, नजिकिँदै गरेको चाडपर्वका अवसरमा साना दरका नोट साट्ने सेवाग्राहीको भीड बढ्न सक्ने भएकाले सर्वसाधारणको सुविधा र बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको हो।
निर्देशनमा एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएको छ।
राष्ट्र बैंकले केही बैंकसँग मौखिक रूपमा जानकारी लिँदा प्राविधिक रूपमा एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न सकिने जानकारी प्राप्त भएको पनि जनाएको छ।
मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत दिइएको छ।

