काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा सर्वसाधारण लगानीकर्तामा आईपीओ विक्री कार्य सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेको हो ।
फागुन २७ गतेदेखि चैत १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र फागुन २७ गतेदेखि चैत ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको आईपीओ कम्पनीले वैशाख ४ गते बाँडफाँट गरेको हो ।
यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १२ लाख कित्ता भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ३ लाख ३ हजार ६७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार १ लाख २० हजार जना स्थानीय र ३० हजार ३०६ जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा कम्पनीले आईपीओ बाँडफाँट गरेको हो ।
पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि सामूहिक लगानी कोषहरूका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता सुरक्षित गरी बाँकी २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ दोस्रो चरणमा थप सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
यस कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ ।
यस आयोजनाको विद्युत अनुमतिपत्र बहाल रहने अवधि २१०२ असार ११ गतेसम्म रहेको छ । हाल कम्पनी सञ्चित नाफामा सञ्चालनमा छ । गत आर्थिक वर्ष ०८१/८२ सम्म ५९ लाख २९ हजार रुपैयाँ सञ्चित नाफामा रहेको यो कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने ४ करोड ७२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको बताएको छ । चालू आर्थिक वर्षभित्र कम्पनीको सञ्चित नाफा भने ३ करोड ६८ लाख रुपैयाँमा सीमित हुने प्रक्षेपण कम्पनीको छ ।
वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिशेयर नोक्सानी ७२ पैसा छ । पुस मसान्तसम्म भने कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा छ ।

