काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ। उहाँ बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत नयाँदिल्ली पुग्नुभएको हो।
दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसँगै उहाँका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी हुनुहुन्छ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थमन्त्री वाग्लेलाई भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गर्नुभएको थियो।
भारतीय टेलिभिजन च्यानल एनडीटीभी (NDTV) द्वारा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन अर्थमन्त्री वाग्ले भारत पुग्नुभएको हो। उहाँले उक्त सम्मेलनको उच्चस्तरीय प्यानलमा अतिथि तथा वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
