काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका १७ जना विजेता घोषणा गरिएको छ । असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि छनोट गरिएका विजेतामध्ये १६ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जित्न सफल भएका छन् ।
काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा विजेता छनोट तथा घोषणा गरेका हुन् ।
विजेता छनोट कार्यविधिअनुसार गरिएको कार्यक्रममा असोज महिनाको दोस्रो पाक्षिकका लागि १७ जना विजेता छनोट गरिएको हो । कार्यक्रमले उपभोक्तालाई कर तिरेर खरिद गर्ने बानी विकास गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।
