काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँट गरेको छ । वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुमा कात्तिक १६ गते ऋणपत्र बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरुमा र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
सर्वसाधारणमा बाँडफाँट गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको भनाई कम्पनीको छ । यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले ऋणपत्रका लागि तोकिएको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्नेछन् ।
