अभिनेता तथा निर्माता जितु नेपाल ले आफ्नो चलचित्र ‘आई एम जित बहादुर’ को फस्र्ट लुक पोस्टर सार्वजनिक गरेका छन् ।
सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट तीन फरक पोस्टरसहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
चलचित्र आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

सार्वजनिक पोस्टरहरूमा जितु नेपालका विभिन्न रूप प्रस्तुत गरिएको छ । कुनै पोस्टरमा उनी जोकरको भेषमा देखिएका छन् भने कतै भावुक अनुहार देखाइएको छ । पोस्टरमा उनीसंगै अभिनेत्री वर्षा राउतलाई पनि देख्न सकिन्छ ।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रमा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । चलचित्रमा जितु र वर्षासंगै प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालको पनि अभिनय रहेको छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् ।
चलचित्रलाई भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेका हुन् ।

