बिहीबार, ८ असोज २०८३ | २:४६ PM
१० वर्षको प्रशिक्षणपछि समीरको दमदार एक्सन अवतार, ‘१२ गाउँ २’…

१० वर्षको प्रशिक्षणपछि समीरको दमदार एक्सन अवतार, ‘१२ गाउँ २’ मा दुर्लभ स्टन्ट प्रदर्शन

लगानीबक्स ८ असोज २०८३ २:३८ अपराह्न

काठमाडौं । अभिनेता तथा निर्देशक विराज भट्टले करिब एक दशकदेखि आफ्ना छोरा समीर भट्टलाई दिँदै आएको एक्सन प्रशिक्षणको नतिजा अब चलचित्र ‘१२ गाउँ २’ मा देख्न पाइने भएको छ।

चलचित्रमा समीरले ‘डबल वन लेग’ (Double One Leg) लगायत कठिन किक र स्टन्ट प्रस्तुत गरेका छन्। नेपाली चलचित्रमा तुलनात्मक रूपमा कम प्रयोग हुने एक्सन शैलीलाई चलचित्रमा समावेश गरिएको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार चलचित्रका एक्सन दृश्यमा समीरको गति, शारीरिक लचकता र किकको शैलीलाई विशेष प्राथमिकता दिइएको छ। सार्वजनिक झलकमा देखिएका उनका एक्सन दृश्यले पनि दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाएको छ।

अभिनय, नृत्य र एक्सनमा आफ्नो उपस्थिति देखाउँदै आएका समीरलाई पछिल्लो समय नेपाली चलचित्रको नयाँ पुस्ताका सम्भावनाशील एक्सन कलाकारका रूपमा चर्चा गर्न थालिएको छ। विशेषगरी ‘१२ गाउँ’ को सफलतापछि उनको एक्सन शैली र स्क्रिन प्रेजेन्सबारे दर्शक तथा चलचित्रकर्मीबीच चासो बढेको छ।

चलचित्रका निर्देशक विराज भट्ट स्वयं नेपाली चलचित्रका स्थापित एक्सन अभिनेता हुन्। उनको लामो अनुभव र समीरको नयाँ पुस्ताको ऊर्जा तथा मेहनतको संयोजन ‘१२ गाउँ २’ को प्रमुख आकर्षणमध्ये एक रहेको निर्माण पक्षको दाबी छ।

नेपाली चलचित्रमा पछिल्लो समय एक्सन विधामा नयाँ प्रस्तुति खोजिरहेका दर्शकमाझ ‘१२ गाउँ २’ ले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। चलचित्रमा समीरको एक्सन प्रस्तुति विशेष आकर्षण बन्ने निर्माण पक्षको अपेक्षा छ।

विराज भट्टको निर्देशनमा तयार भएको ‘१२ गाउँ २’ आगामी असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।