काठमाडौं । अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएपछि चर्चामा आएको फिल्म ‘परिवार’ को टिजर सार्वजनिक भएको छ ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको टिजरको सुरुवातमा कामेश्वर र लक्ष्मीबीचको खटपट देखाइएको छ । टिजरमा लक्ष्मीले कामेश्वरलाई, ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरी म भागेर आएँ के’ भन्दै प्रश्न गर्छिन् । त्यसको जवाफमा कामेश्वरले, ‘लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपर्थ्यो कि तिमी’ भन्छन् । उनीहरूको संवादले परिवारको मञ्जुरीबिना नै विवाह गरेको संकेत गर्छ ।
यता, छोरीको भूमिकामा देखिएकी पात्रले भगवानसँग बुवा–आमाबीच कहिल्यै झगडा नहोस् भनेर प्रार्थना गरेको दृश्य पनि टिजरमा देखाइएको छ । त्यसपछि आउने दृश्यले भने दर्शकमा थप कौतुहल सिर्जना गर्छ । सुतेर उठेका कामेश्वर र लक्ष्मीले आ–आफ्नो शरीर छाम्दै आश्चर्य व्यक्त गरेको दृश्य टिजरमा देखिन्छ । उनीहरू किन यस्तो अवस्थामा पुगे भन्ने रहस्य भने फिल्म प्रदर्शनपछि मात्रै खुल्नेछ ।
‘कहिले श्रीमान् को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण भएको फिल्म कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ । मदन थापाको निर्देशन रहेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारको अभिनय छ ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रेम थापा र गणेश उपाध्यक्षको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन रहेको छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। फिल्मको टेलर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


