नेपालको चलचित्र उद्योगमा कमेडी तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र निर्माण गर्दै लगातार सफलताको शिखरमा रहँदै आएका दिपक– दीपा टिमले अर्को बहुप्रतिक्षित प्रोजेक्ट ‘छ माया छपक्कै २’ को औपचारिक शुभ मुहूर्त गरेका छन् ।
सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै चलचित्रको शुभारम्भ गरिएको हो ।
दिपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा ‘छ माया छपक्कै’का मुख्य कलाकारहरू दीपकराज गिरी र केकी अधिकारी पुनः प्रमुख भूमिकामा देखिने भएका छन् । यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि नयाँ भूमिकामा जोडिएकी छन् । चलचित्रका अन्य कलाकारबारे भने केही बताइएको छैन ।

आमा सरस्वती मूभिज र निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण हुने यो चलचित्र नुवाकोटसहित पोखरा र काठमाडौंमा छायांकन हुने बताइएको छ । निर्माण पक्षका अनुसार चलचित्रलाई यस वर्षको बडादशैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
सामाजिक–राजनीतिक व्यङ्ग्य र हास्य प्रस्तुत गर्न माहिर यो टिमको यस चलचित्रलाई अघिल्ला सफलताहरूको आधारमा पनि नेपाली कमेडी चलचित्रको सूचीमा अर्को उल्लेखनीय अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ ।

