नेपाली चलचित्र बजारमा चर्चा कमाइरहेको चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा लगातार मजबुत प्रदर्शन गरिरहेको देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा ‘राम नाम सत्य’ ले हालसम्म करिब १,१७,६४६ टिकट बिक्री गर्न सफल भएको देखाएको छ । आर्थिक हिसाबले हेर्दा चलचित्रले ३ करोड ३२ लाख ६८ हजार ८२१ रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको देखिन्छ । एक्सन, ड्रामा र भावनाको मिश्रणले व्यापक दर्शक समेट्न सफल चलचित्रले सिंगल स्क्रिन दर्शकदेखि मल्टिप्लेक्ससम्म राम्रो आकर्षण कायम गर्न सफल भएको छ ।

यता यसै अवधिमा प्रदर्शन भइरहेको चलचित्र ‘पहाड’ ले करिब १९,६३१ टिकट बिक्री गर्दै प्रदर्शनको १२ दिनमा ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाएको छ । लामो समयपछि चलचित्र निर्माणमा फर्किएका वरिष्ठ निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ले अपेक्षाअनुरुप दर्शकलाई तान्न भने सकेन ।
बिराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशान्त श्रेष्ठ सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘राम नाम सत्य’को निर्देशन माइकल चन्दले निर्देशन गरेका हुन् भने चलचित्र ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ ।
यो बिचमा बजारमा प्रदर्शनमा आएका नयाँ चलचित्र, दर्शकको रुचि परिवर्तन र वर्ड अफ माउथले दुवै चलचित्रको कलेक्सनमा असर पार्ने देखिन्छ ।

