२०८३ जेठ ११ | १:१३ PM
२० वर्षपछि राज हमालको कमब्याक, ‘१२ गाउँ २’ मा कालु…

२० वर्षपछि राज हमालको कमब्याक, ‘१२ गाउँ २’ मा कालु राना पनि निरन्तर

लगानीबक्स २०८३ वैशाख २४ १:०४ अपराह्न

काठमाडौं । निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ । चलचित्रको छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ ।

लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए । ‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली चलचित्र क्षेत्रमा विशेष रूपमा हेरिएको छ ।

त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन् । पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो ।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ । एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको चलचित्रलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

चलचित्रमा बिराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ । पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ ।