काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा उत्साहजनक वृद्धि देखिए पनि खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको चैतसम्म कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको व्यापारिक विस्तार भने सकारात्मक देखिएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, खुद बीमाशुल्क संकलन अघिल्लो वर्षको १ अर्ब २९ करोड २४ लाखबाट १४ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड, महाविपत्ति कोषमा २२ करोड ६७ लाख र रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।
वित्तीय सूचकअनुसार कम्पनीको सोल्भेन्सी रेसियो ३.३१ प्रतिशत रहेको छ । नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानीमा पनि संकुचन देखिएको छ ।
हाल कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको तुलनामा कुल बीमाशुल्कमा सामान्य वृद्धि भए पनि खुद बीमाशुल्कमा भएको सुधारले कम्पनीको व्यवसाय विस्तारको गतिलाई संकेत गरेको छ ।

