काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको व्यवसाय विस्तार भने उत्साहजनक देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ४९ करोडको तुलनामा १८.८९ प्रतिशतले बढी हो। यस्तै, कम्पनीको कुल आम्दानी पनि ४ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। आम्दानीसँगै कम्पनीको कुल खर्चमा पनि बढोत्तरी भएको छ। अघिल्लो वर्ष ४ अर्ब २६ करोड रहेको कुल खर्च यस वर्ष ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
बीमा दाबी भुक्तानीतर्फ कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९० करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ। वित्तीय स्थितिअनुसार कम्पनीको महाविपत्ति कोषमा १३ करोड ८४ लाख, रिटेन्ड अर्निङमा ३३ करोड २१ लाख र सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.९१ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी (पीई) अनुपात ६९.७६ गुणा रहेको विवरणमा उल्लेख छ।

