काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा बुधबार कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कयालले नेपाल वित्तीय प्रतिवेदन एनएफआरएस बमोजिमको वित्तीय विवरण पेश गरेका थिए । उक्त प्रस्ताव सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनीको वार्षिक लेखापरीक्षकमा आरएसएम एसोसियट्सलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावसमेत सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी दुई अर्ब १५ करोडमा पाँच प्रतिशतका दरले १० करोड ७५ लाख बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ । यस्तै, कम्पनी ऐनको दफा १०५ को उपदफा १(ग) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ ।
कम्पनीको सातौं वार्षिक साधारणसभाबाट पारित १७ प्रतिशत हकप्रद सेयरअन्तर्गत ३६ लाख ५५ हजार कित्ता सेयर समावेश गरी बोनस सेयर जारीपश्चात् कायम हुने चुक्ता पुँजीसम्बन्धी विवरण पुनरावलोकन गर्न तथा आवश्यक परे संशोधित प्रबन्धपत्र र नियमावलीमा फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । कार्यक्रममा कम्पनीले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहकको विश्वास जित्ने तथा व्यवसाय विस्तारमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

