काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन् ।
शिक्षा प्रणाली सुधार, नीति निर्माण र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ‘ह्युबर्ट एच. हम्फ्रे फेलोसिप’ (२०२५/२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययन र अनुसन्धानमा संलग्न छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगमा बोर्ड सदस्य रहँदा उनकै नेतृत्वमा ‘सीपमेला’, ‘बुक फ्रि फ्राइडे’, प्राविधिक शिक्षा र शिक्षक क्षमता विकास जस्ता कार्यक्रम सफल रूपमा सञ्चालन भएका थिए । झासँग ‘टिचर्स फर नेपाल’ को सञ्चालन निर्देशकका रूपमा आठ वर्ष काम गरेको तथा ‘बीआइटीएस लिडर इन्टरनेश्नल’ मार्फत् स्मार्ट लर्निङ र युवा उद्यमशीलतामा योगदान पुर्याएको लामो अनुभव छ ।
जर्मनी, फिलिपिन्स र बंगलादेशबाट इन्जिनियरिङ, विकास व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका झाले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन् ।
उनको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, डिजिटल शिक्षा र अनुसन्धानमा आधारित नीति निर्माणले थप गति पाउने अपेक्षा गरिएको छ ।

