२०८३ असार २८ | १०:११ AM
मन्त्री चौधरी र बंगलादेशका मन्त्री मिन्टबीच द्विपक्षीय भेटवार्ता 

मन्त्री चौधरी र बंगलादेशका मन्त्री मिन्टबीच द्विपक्षीय भेटवार्ता 

लगानीबक्स २०८३ असार १७ ९:३८ अपराह्न

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टबीच भेटवार्ता भएको छ ।  थाइल्याण्डको राजधानी बैंककस्थित मन्त्री चौधरीसँग बंगलादेशका मन्त्री मिन्टबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल र बंगलादेशबीच वातावरण, वन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, जैविक अर्थतन्त्र, विपद् जोखिम न्यूनीकरण तथा दक्षिणदक्षिण सहकार्यका क्षेत्रमा साझेदारी थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।

साथै दुवै मन्त्रिहरुले नेपाल तथा बंगलादेशविच कृषिलाई आधुनिकिकरण गर्ने विषयमा समेत सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्ने विषयमा छलफल भयो । दुवै मन्त्रीहरूले राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८२औं बैठकले अनुमोदन गरेको जैविक अर्थतन्त्र सम्बन्धी प्रस्तावको प्रभावकारी कार्यान्वयन, ज्ञान आदानप्रदान, प्रविधि हस्तान्तरण, अनुसन्धान, क्षमता विकास तथा जैविक उत्पादनहरूको मूल्य अभिवृद्धि र अन्तर्राष्ट्रिय बजार पहुँचका लागि सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै जलवायु न्याय, जलवायु वित्त, अनुकूलन, क्षति तथा नोक्सानी लगायतका विषयमा विकासशील तथा जलवायु जोखिमयुक्त मुलुकहरूको साझा आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो।

यसैगरी मन्त्री चौधरीले दिगो जैविक अर्थतन्त्रमार्फत एशिया तथा प्रशान्त क्षेत्रमा सहकार्य प्रवद्र्धन  विषयक उच्चस्तरीय साइड इभेन्टलाई समेत सम्बोधन गर्नुभयो। सम्बोधनमा उहाँले नेपालको समृद्ध जैविक विविधता, वन, कृषि, औषधीय तथा सुगन्धित वनस्पति, नवीकरणीय ऊर्जा र स्थानीय ज्ञानलाई दिगो आर्थिक समृद्धिको आधारका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै जैविक अर्थतन्त्र नेपालका लागि हरित रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, जलवायु उत्थानशीलता अभिवृद्धि तथा समावेशी आर्थिक विकासको प्रभावकारी माध्यम भएको धारणा व्यक्त गर्नुभयो।