दोलखा। सडक डिभिजन कार्यालय, दोलखाले किर्ने सडकखण्ड निर्माण आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी जोगिमारा कन्स्ट्रक्सनसँग भएको सम्झौता डेढ वर्ष बित्दासमेत १२ प्रतिशत मात्रै प्रगति भएपछि सम्झौता तोडिएको हो।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले शुक्रबार आयोजनास्थलको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीप्रति असन्तुष्टि जनाउँदै तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालय, खुर्कोटका डिभिजन प्रमुख पारसमणि हमालले जानकारी दिएका छन्।
उनका अनुसार १,२०० मिटर सडक निर्माणका लागि करिब डेढ वर्षअघि ४० करोड रुपैयाँमा जोगिमारा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। उक्त आयोजनामा जोगिमारा, सिद्धान्त र वाइबा कन्स्ट्रक्सनको संयुक्त सहभागिता भए पनि मुख्य जिम्मेवारी जोगिमाराकै रहेको उनले बताए।
डिभिजन प्रमुख हमालका अनुसार मन्त्रीको अनुगमनबारे निर्माण कम्पनीका सञ्चालक तथा उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीलाई जानकारी गराइए पनि उनी आयोजनास्थलमा उपस्थित नभएको बताए।
हमालका अनुसार कम्पनीकै कारण सम्झौता रद्द गर्नुपरेकाले निर्माण कम्पनी स्वतः कालोसूची (ब्ल्याकलिस्ट) मा पर्ने प्रक्रिया पनि अघि बढ्नेछ। उनका अनुसार कार्यालयको कमजोरीका कारण सम्झौता रद्द भएको नभई निर्माण कम्पनीको कार्यसम्पादन कमजोर भएकाले यस्तो निर्णय गरिएको हो।
