काठमाडौं । रोपाइँको मौसममा मल आपूर्ति सहज बनाउन थप आयात, १.१ लाख मेट्रिक टन मल कलकत्ता आइपुग्यो
काठमाडौं । असार–साउनको रोपाइँ सिजनमा रासायनिक मलको माग बढेसँगै सरकारले युरिया र डि.ए.पी. मलको आपूर्ति सहज बनाउन थप आयात प्रक्रिया तीव्र बनाएको छ। विश्व बजारमा आपूर्ति समस्या र पश्चिम एशियामा उत्पन्न भू–राजनीतिक तनावका कारण आयातमा चुनौती देखिए पनि सरकारी तथा आपूर्तिकर्ता निकायको प्रयासबाट मल भित्र्याउने काम जारी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डि.ए.पी. र ३० हजार मेट्रिक टन युरिया गत असारमै कलकत्ता बन्दरगाह पुगेको थियो। त्यसपछि भारतसँगको सरकारी–सरकारी (G2G) व्यवस्था अन्तर्गत खरिद गरिएको २० हजार मेट्रिक टन डि.ए.पी. तथा थप ३० हजार मेट्रिक टन युरिया साउनको पहिलो साता कलकत्ता पुगेको छ। अर्को ३० हजार मेट्रिक टन युरिया पनि साउनको दोस्रो सातामा त्यहाँ आइपुगेको मन्त्रालयले जनाएको छ।
हाल मल जहाजबाट अनलोडिङ, प्याकिङ तथा ट्रक र रेलमार्फत नेपाल पठाउने काम भइरहेको छ। कलकत्तामा पुगेको मलमध्ये हालसम्म ४ हजार ९५० मेट्रिक टन डि.ए.पी. र ७०० मेट्रिक टन युरिया नेपाल भित्रिसकेको छ। साथै २ हजार ५०० मेट्रिक टन डि.ए.पी. र २ हजार ५०० मेट्रिक टन युरिया बोकेको एक–एक रेल र्याक नेपालतर्फ प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने अपेक्षा गरिएको छ।
गत आर्थिक वर्षमा नेपालमा कुल ३ लाख ८६ हजार ४ मेट्रिक टन रासायनिक मल बिक्री भएको थियो। चालु आर्थिक वर्षको साउन १२ गतेसम्म १८ हजार ९१७ मेट्रिक टन मल बिक्री भइसकेको मन्त्रालयले जनाएको छ।
