काठमाडौँ । पूर्वी नेपालका केही जिल्लामा देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विविधताभित्रको एकता र आपसी सद्भाव नेपालको ठूलो शक्ति रहेको उल्लेख गर्दै नाडाले हिंसात्मक गतिविधि, तोडफोड र सामाजिक सद्भाव खल्बल्याउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो। विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ । यही सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। तर, कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन ।
यस्ता घटनाले शान्ति सुरक्षाका साथै उद्योग, व्यवसाय, लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने भन्दै अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी अपिलमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
साथै, संवाद र आपसी समझदारीमार्फत समस्याको समाधान खोज्न तथा सरकारलाई नागरिकको जनधनको सुरक्षा र व्यावसायिक वातावरण सहज बनाउन तत्काल आवश्यक पहल गर्न जोडदार माग गरिएको छ ।
