काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।
बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन मन्त्री यादवले दिएको निर्देशनअनुसार निगमले ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाएको जनाएको छ।
निगमले शनिबार जारी गरेको विज्ञप्तिमा दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभावसम्बन्धी समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्ति सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले उपभोक्तालाई ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि अनुरोध गरेको छ।
उद्योगमन्त्री यादवले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिनुभएको थियो। निगमले सोही निर्देशन कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढाएको जनाएको छ।
