शनिबार, २४ असोज २०८३ | ५:४१ PM
भद्रपुर भन्सारले लक्ष्यको ७४ प्रतिशत मात्र राजस्व उठायो

भद्रपुर भन्सारले लक्ष्यको ७४ प्रतिशत मात्र राजस्व उठायो

लगानीबक्स १६ साउन २०८३ ३:२६ अपराह्न

झापा। भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलन लक्ष्य पूरा गर्न नसकेको जनाएको छ। कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो।कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार गत आर्थिक वर्षमा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर कार्यालयले रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र राजस्व सङ्कलन गर्न सफल भएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि भद्रपुर भन्सारले निर्धारित लक्ष्य हासिल गर्न सकेको थिएन। उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र राजस्व उठेको थियो।

सूचना अधिकारी लामाले भद्रपुर नाकाबाट हाल निर्यात गतिविधि नहुँदा राजस्व सङ्कलन प्रभावित भएको बताए। उनका अनुसार यस नाकाबाट मुख्य रूपमा सुर्तीजन्य पदार्थको आयात हुने गरेको छ भने झापाको अधिकांश निर्यात व्यापार मेची भन्सार कार्यालयमार्फत सञ्चालन हुने गरेको छ।
निर्यात कारोबारको अभाव र सीमित आयात गतिविधिका कारण भद्रपुर भन्सारले लगातार दोस्रो वर्ष पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न नसकेको देखिएको छ।