काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। यससँगै महासंघका २५ वटा समितिमध्ये ११ वटा समितिले पूर्णता पाइसकेका छन्। महासंघका केन्द्रीय सदस्य हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वमा मेला समिति तथा संघर्ष विष्टको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति विस्तार गरिएसँगै ती समितिका उपसभापति, सदस्य र सल्लाहकारलाई मनोनयन पत्र प्रदान गरिएको हो।
महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताउनुभयो। उहाँले नीतिगत विषयमा अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा सुझाव प्रस्तुत गर्न समितिहरूलाई आग्रह गर्नुभयो।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समितिहरूलाई सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीका समस्या नजिकबाट अध्ययन गरी समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो। कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो।
बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता र निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताउनुभयो। मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने र स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड दिने योजना सुनाउनुभयो।
यस्तै, पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायात सहजता तथा पर्यटन पूर्वाधार विकासका लागि सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या र सम्भावना पहिचान, नीतिगत सुझाव निर्माण तथा सरकारसँग संवाद र सहकार्यका प्रमुख संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
