काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार थप ८ हजार रुपैयाँले उकालो लाग्दै प्रतितोला २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनमै सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले बढेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ। यसअघि बुधबार पनि चाँदीको भाउ प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।
महासंघका अनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदीको मूल्य पनि सोही अवधिमा प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तर मानिन्छ।
यता, चाँदीको मूल्यमा सबैभन्दा ठूलो गिरावट भने गत माघ १८ गते देखिएको थियो। त्यसदिन चाँदी प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। हाल विश्व बजारमा सुन तथा चाँदीको मूल्य बढ्दो क्रममा रहेकाले स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको छ।
