शनिबार, २४ असोज २०८३ | २:४४ PM
इप्पानद्वारा नेपाल विद्युत प्राधिकरणसमक्ष १३ बुँदे मागपत्र पेश

इप्पानद्वारा नेपाल विद्युत प्राधिकरणसमक्ष १३ बुँदे मागपत्र पेश

लगानीबक्स २५ साउन २०८३ ८:१५ अपराह्न

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका महानिर्देशकसमक्ष ऊर्जा क्षेत्रका समसामयिक समस्या समाधानका लागि १३ बुँदे मागपत्र पेश गरेको छ। इप्पानका अध्यक्षसहितको टोलीले प्राधिकरणसमक्ष पेश गरेको मागपत्रमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरूले भोगिरहेका समस्या समाधान गर्न विशेष पहल गर्न आग्रह गरिएको छ।

मागपत्रमा विगत तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै नीतिगत तथा कार्यान्वयनगत अनिश्चितताले लगानीको वातावरण प्रभावित भएको जनाएको छ। इप्पानले लामो समयदेखि रोकिएका जलविद्युत आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुलाउनुपर्ने तथा आयोजनाको अवस्थाअनुसार व्यावसायिक सञ्चालन मिति (सीओडी) बढीमा पाँच वर्षसम्म थप गर्ने व्यवस्था गर्न माग गरेको छ।
यस्तै, नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने प्रसारण लाइनमा हुने ढिलाइका कारण प्रवर्द्धकलाई पुग्ने आर्थिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा ‘टेक एण्ड पे’ व्यवस्थाको अन्त्य गरी उत्पादित विद्युतको खरिद सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

इप्पानले प्रसारण लाइन निर्माण प्रभावित क्षेत्रका सरोकारवालालाई समेत सहभागी गराउने व्यवस्था गर्न, ह्विलिङ चार्जलाई वैज्ञानिक तथा पारदर्शी बनाउन र मुद्रास्फीति तथा लागत वृद्धिका आधारमा पीपीए दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंक लगानीका लागि उपयुक्त ‘बैंकएबल’ पीपीए तयार गरी कार्यान्वयनमा ल्याउन, निजी क्षेत्रका आयोजनाको ग्रिड कनेक्सन प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउन तथा प्राधिकरण र निजी ऊर्जा उत्पादकबीच नियमित संवाद, समस्या समाधान र नीतिगत समन्वयका लागि स्थायी संयुक्त संयन्त्र गठन गर्नुपर्ने माग पनि अघि सारिएको छ।
इप्पानले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा विद्युत उत्पादन विस्तारका लागि मागपत्रमा उल्लेखित विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्राधिकरणसँग आग्रह गरेको छ।