काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नो धारणा राख्दै देशको वर्तमान राजनीति, पार्टीको आन्तरिक अवस्था र भविष्यको मार्गचित्रबारे आफ्ना धारणाहरू स्पष्ट पारेका हुन्।
पाँच महिनाको उपचारपछि स्वदेश फर्कँदा आफूलाई गहिरो भावनात्मक अनुभूति भएको बताउँदै देउवाले भनेका छन्, ‘म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु( सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन आएको हुँ ।’
आफ्नो सन्देशमा देउवाले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गरेका छन् । वि.सं. २००७ सालदेखिको राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको उल्लेख गर्दै उनले बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै भुल्न नहुने बताएका छन् । कांग्रेस केवल सत्ताको लागि नभई जनताको विश्वासको प्रतीक भएको उनको भनाइ छ ।
सभापति देउवाले युवा पुस्ताको आकांक्षा र परिवर्तनको मागलाई आत्मसात् गरेको उल्लेख गरेका छन् । ‘मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु,’ उनले भनेका छन् । विश्व बदलिएको र समयको गतिसँगै अघि बढ्नुपर्ने कुरालाई स्वीकार गर्दै उनले समाजका सबै वर्ग र समुदायको सार्थक सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
