Ad
शुक्रबार, ११ मंसिर २०८३ | ५:०० PM
देउवाको दाबी : ‘जेनजी युवाले बचाए’, आन्दोलनमा षड्यन्त्र भएको आरोप

देउवाको दाबी : ‘जेनजी युवाले बचाए’, आन्दोलनमा षड्यन्त्र भएको आरोप

लगानीबक्स सम्वाददाता ६ मंसिर २०८३ १:०८ अपराह्न

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवाको ज्यान जेनजी युवाहरूले बचाएको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा आफूहरूमाथि ज्यान मार्ने प्रयास भएको उल्लेख गर्दै घटनामा योजनाबद्ध षड्यन्त्र रहेको आरोप लगाएका छन्।

शनिबार कांग्रेसको देउवा पक्षले आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफूहरू गम्भीर जोखिममा परेको बताएका हुन्।

उनका अनुसार आन्दोलनका बेला हेलिकप्टर अवतरण गर्न दिइएन भने घर जाने बाटोसमेत अवरुद्ध गरिएको थियो। पछि नेपाली सेनाको सहयोगमा सेनाको क्याम्पमा पुगेर उपचार गराएपछि आफूहरू बाँच्न सफल भएको उनले बताए।

देउवाले आफूहरूलाई जेनजी युवाहरूले बचाएको दाबी गर्दै आन्दोलनका नाममा ५० वर्षभन्दा माथिका व्यक्तिहरूले ढुंगामुढा गरेको आरोपसमेत लगाए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी आरजु राणा देउवा तथा तत्कालीन गृहमन्त्री रमेश लेखकको भूमिकासमेत उल्लेख गर्दै आफ्नो निवासमा आक्रमण हुनुको कारणमाथि प्रश्न उठाए।

आन्दोलनका क्रममा बीपी कोइराला र गणेशमान सिंहसँग सम्बन्धित घर तथा देशभरका नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा समेत आक्रमण भएको स्मरण गर्दै देउवाले यी घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने बताए।

उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू संयोग मात्र नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको आरोप लगाएका छन्।