काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा–१ का मतदातालाई लक्षित गर्दै आफूले दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति गम्भीर नभई मजाकका रूपमा दिएको बताएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले उक्त अभिव्यक्तिबारे स्पष्टीकरण दिएका हुन्। सञ्चारकर्मीले सो विषयमा प्रश्न गरेपछि उनले प्रतिप्रश्न गर्दै भने, “आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?”
केही दिनअघि गोरखा–१ अन्तर्गत स्थानीय मतदातासँगको भेटघाटका क्रममा गुरुङले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध नभएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि “भोट फिर्ता लैजानुस्” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
सो अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना बढेपछि गृहमन्त्री गुरुङले आफूले मतदातासँगको अनौपचारिक कुराकानीका क्रममा ठट्टा गर्दै उक्त कुरा भनेको स्पष्ट पारेका छन्।
यसअघि गोरखामा आयोजित कार्यक्रममा उनले छोटो अवधिमा सबै अपेक्षा पूरा गर्न नसकिने उल्लेख गर्दै मतदाताले तत्काल परिवर्तनको अपेक्षा गरे भोट फिर्ता लैजान सक्ने आशय व्यक्त गरेका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको आलोचना गरेका थिए।
