काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा भीषण वर्षापछि आएको ठूलो बाढीले जनजीवन प्रभावित बनेको छ। केही घण्टाअघि आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा सञ्चालन गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार बाढीबाट मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायहरू परिचालन गरी उद्धार र राहतका गतिविधि अघि बढाइएको छ।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भन्सार कार्यालय तथा मातहतका निकायहरूसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुषाल तथा मन्त्रालयका उच्च अधिकारीहरू उद्धार, राहत र आपत्कालीन व्यवस्थापनका कार्यमा सक्रिय रहेको जानकारी दिइएको छ।
सरकारले प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत सामग्री उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, स्थानीय बासिन्दालाई सतर्क रहन तथा प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ।
बाढीको अवस्था, क्षतिको विवरण तथा उद्धार कार्यबारे थप जानकारी आउने क्रम जारी रहेको छ।

