काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप तथा लामो समयदेखि थन्किएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्न नयाँ प्रविधिमा आधारित प्रणाली लागू गरेको जनाएको छ।
विभागका अनुसार नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स प्राप्त गर्ने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रिया थप छिटो, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ। ईडीएल भिआरएसमा प्रविष्ट गरिएका सेवाग्राहीका विवरणहरू सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयहरूमा पठाइनेछ। यस व्यवस्थाले विगतमा देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणको ढिलासुस्ती कम हुने विभागको विश्वास छ।
नयाँ प्रविधिको सुरुवातसँगै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको विभागले जनाएको छ।
नयाँ व्यवस्था अनुसार प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफैं लाइसेन्स छपाइ गर्न सक्ने प्रावधान रहेको छ। सोही अनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ प्रक्रिया अघि बढाइसकेको छ भने लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सम्झौता गरी छपाइ प्रक्रिया सुरु गरेको छ।
प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको प्रत्यक्ष समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको विभागले जनाएको छ।

