आइतबार, ४ असोज २०८३ | १२:२४ AM
बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने

लगानीबक्स ४ असोज २०८३ ९:०७ अपराह्न

काठमाडौं । बंगालको खाडीमा विकसित हुन सक्ने चक्रवातीय प्रणालीको परिधीय प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल बंगालको खाडी क्षेत्रमा न्यूनचापीय प्रणाली विकास हुने संकेत देखिए पनि चक्रवातको स्पष्ट स्वरूप भने बनिसकेको छैन।

उनका अनुसार बंगालको खाडीमा विकसित हुने प्रणाली जमिनमा प्रवेश गरेपछि कमजोर बन्दै उत्तर–पश्चिमतर्फ सर्दा त्यसको प्रभाव नेपालसम्म पुग्न सक्छ। यद्यपि प्रणाली अझै प्रारम्भिक अवस्थामै रहेकाले यसको प्रभावबारे अहिले नै निश्चित रूपमा भन्न नसकिने उनले बताए।

विभागका अनुसार हाल देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ।

हाल लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने कोशी र मधेश प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

विभागले आगामी तीन दिन देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। असोज ४ देखि ६ गतेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।मौसमविद्हरूले सम्भावित वर्षा र चट्याङका कारण सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।