काठमाडौं । जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक पहललाई थप प्रभावकारी र संस्थागत बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। बढ्दो जलवायु परिवर्तनका प्रभाव र त्यसले नेपालमा पारिरहेको असरलाई मध्यनजर गर्दै मन्त्रालयले नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो।
मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’ गठन गरिएको छ। शाखाको नेतृत्व उपसचिवले गर्ने व्यवस्था गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस्ता प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन शाखा स्थापना गरिएको हो।
नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिका विषयमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै अब यसलाई थप संस्थागत रूपमा विकास गर्न आवश्यक रहेको बताए। मन्त्री खनालले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप) लगायतका कार्यक्रममा सहभागितामा मात्र केन्द्रित भएर जलवायु कूटनीति प्रभावकारी नहुने भन्दै मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर यसलाई सुदृढ गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार हाल वातावरण कूटनीति शाखामार्फत काम अघि बढाइनेछ भने आवश्यकता र कार्यबोझका आधारमा भविष्यमा यसको संरचनालाई थप सुदृढ बनाउन सकिनेछ। उनले जलवायु परिवर्तनका प्रभाव र विपद्सम्बन्धी विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहललाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

