बाजुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा र सात स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका ६९ वडामध्ये ६७ वडामा अधिवेशन सम्पन्न भई सर्वसम्मत नेतृत्व चयन गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ। गौमुल गाउँपालिका–४ र ५ बाहेक अन्य सबै वडामा अधिवेशन सम्पन्न भएको पार्टीका जिल्ला उपसभापति पदम बडुवालले जानकारी दिए।
यस्तै, जिल्लाका नौ स्थानीय तहमध्ये सात पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। पालिका अधिवेशनबाट हिमाली गाउँपालिकाको सभापतिमा चन्द्रादेवी बुढा, खप्तड छेडेदह गाउँपालिकामा हर्कबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा चयन भएका छन्।
त्यसैगरी जगन्नाथ गाउँपालिकाको सभापतिमा कपुर गिरी, बुढीनन्दा नगरपालिकामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सर्वसम्मत सभापति चयन भएका छन्।
अब त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा पालिका नेतृत्व चयन गर्न बाँकी रहेको छ। ती दुवै पालिकामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको उपसभापति बडुवालले बताए। कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहमा अधिवेशन प्रक्रिया अघि बढाएको हो। बाजुरामा अधिकांश वडा तथा पालिकामा नेतृत्व चयन सहमतिमै सम्पन्न भएको पार्टीले जनाएको छ।

