बिहीबार, ५ कार्तिक २०८३ | ८:१५ AM
दसैँ मनाउन तीन लाख ४८ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

दसैँ मनाउन तीन लाख ४८ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

लगानीबक्स सम्वाददाता ३० असोज २०८३ १२:२१ अपराह्न

काठमाडौँ। दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गते बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका हुन्।
यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै विभिन्न जिल्लातर्फ गइरहेका छन्।
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको दुरवस्थाका कारण सवारीसाधन सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताए।
उनका अनुसार दसैँको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भएको छ। असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा व्यवस्थापनमा थप समस्या परेको थियो।
ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट लिएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किने क्रम बढेसँगै काठमाडौँका विभिन्न नाका तथा बसपार्कमा यात्रुको चहलपहल बढेको छ। दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने भएकाले हरेक वर्ष यस समयमा घर फर्किने यात्रुको सङ्ख्या बढ्ने गरेको छ।