आइतबार, १५ कार्तिक २०८३ | ३:२९ AM
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र…

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

लगानीबक्स सम्वाददाता ९ कार्तिक २०८३ १२:०४ अपराह्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ । प्रतियोगितामा अघिल्ला संस्करणमा सहभागी आठवटै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन् ।

तेस्रो संस्करणको एनपीएल सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणका खेल हुनेछन् । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते आयोजना हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार यस संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार रकम वृद्धि गरिएको हो । गत संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यतिबेला लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । यसले मैदानमा रहेका अम्पायरको निर्णयमाथि समीक्षा गर्न र विवादास्पद निर्णयको पुनरावलोकन गर्न सहयोग गर्नेछ ।

यस प्रविधिमार्फत एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णयको समीक्षा गरिनेछ । साथै छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुनेछ।

प्रतियोगितामा प्रत्येक टोलीले एकपटकमा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था गरिएको छ । डीआरएसको प्रयोगले अम्पायरको निर्णयलाई थप विश्वसनीय बनाउने र खेलको निष्पक्षता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।