काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म १ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यो वर्ष भने २४ दशमलव ४९ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो ।
खुद नाफा बढेको कम्पनीको वितरणयोग्य नाफा भने ५७ दशमलव ३१ प्रतिशत कम भएको छ । गत वर्ष ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी रहेको विरतणयोग्य नाफा यस वर्ष भने २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी मात्र कायम भएको हो ।
कम्पनीको इम्पेरमेन्ट चार्ज रकम घटेको छ । गत वर्ष १ अर्ब १ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष भने ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने यो अवधिसम्म ३० अर्ब ३ करोड रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म ६ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४ खर्ब ७१ अर्ब २१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ।
गत वर्ष ४ दशमलव ९८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७९ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७५ रुपैयाँ ७७ पैसा छ ।
