Ad
शनिबार, १२ मंसिर २०८३ | ४:०९ AM
एनपीएल : आज वार्नर र रसेलको भिडन्त, दुई खेल हुँदै

एनपीएल : आज वार्नर र रसेलको भिडन्त, दुई खेल हुँदै

लगानीबक्स सम्वाददाता १९ कार्तिक २०८३ ११:२१ पूर्वाह्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी ३ खेलबाट ५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। पोखरा एभेन्जर्सलाई अघिल्लो खेलमा ८ विकेटले पराजित गरेको लुम्बिनी आज जनकपुरलाई हराउँदै शीर्ष स्थान थप मजबुत बनाउने लक्ष्यमा हुनेछ।

यता, ४ खेलबाट २ जित र २ हारसहित ४ अंक जोडेको जनकपुर चौथो स्थानमा छ। विराटनगर किङ्ससँग पछिल्लो खेलमा २ रनको झिनो अन्तरले पराजित भएको जनकपुर आज जित निकाल्दै पुनरागमन गर्ने योजनामा हुनेछ।

आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन्। यस खेलमा काठमाडौंका स्टार खेलाडी डेभिड वार्नर र विराटनगरका आक्रामक अलराउन्डर अन्द्रे रसेलबीचको प्रदर्शनलाई विशेष चासोका साथ हेरिएको छ।

विराटनगर पछिल्लो खेलमा साविक विजेता जनकपुरलाई २ रनले पराजित गर्दै उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ। ४ खेलबाट ४ अंक जोडेको विराटनगर आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा छ। टोलीका अन्द्रे रसेलको आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ विराटनगरका लागि महत्त्वपूर्ण बन्न सक्छ।