Ad
शनिबार, १२ मंसिर २०८३ | ९:३४ AM
एनएफएललाई शुभकामना, सरकारले गर्ने लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु…

एनएफएललाई शुभकामना, सरकारले गर्ने लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु हुन्छ : मन्त्री पोखरेल

लगानीबक्स सम्वाददाता १२ मंसिर २०८३ ८:३६ पूर्वाह्न

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिग (NFL) मा सहभागी हुने १० वटै क्लबको टुंगो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।

शुक्रबार सामाजिक सञ्जालमार्फत NFL लाई शुभकामना व्यक्त गर्दै मन्त्री पोखरेलले सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो।निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको NFL ले नेपाली फुटबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास छ।

NPL को सफलतापछि दशौँ राष्ट्रिय खेलकुदको रौनक बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको उत्साह फुटबलमा पनि विस्तार गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार केही दिनअघि थाइल्यान्डमा FIFA र AFC का नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो। साथै, अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

निजी क्षेत्रको सहकार्यमा NFL अघि बढिरहँदा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ स्वरूपमा अघि बढाउने सरकारको योजना छ। आगामी वर्षदेखि देशका विभिन्न स्थानमा मल्टिभेन्यू अवधारणाअन्तर्गत लिग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री पोखरेलले बताउनुभएको छ। यस अवधारणाले फुटबललाई काठमाडौंमा मात्र सीमित नराखी देशभर विस्तार गर्न तथा स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले सरकारको उद्देश्य प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित नरहेको स्पष्ट पार्दै खेलाडीको भविष्य सुरक्षित गर्ने, क्लबहरूलाई सबल बनाउने र समग्र फुटबल संरचनाको विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ।
नेपाली फुटबलमा रहेको प्रतिभा, सम्भावना र समर्थकको मायालाई एकीकृत गर्दै फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ।