काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६ दशमलव ९२ प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस अघि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले पछिल्लो समयको निर्णय बमोजिम हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ९२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यस कम्पनीलाई २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । पुनर्बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था नेपाल बीमा प्राधिकरणले गरेको हो ।
२०८२ साल साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । २६ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने योजनाका साथ अघि बढेको कम्पनीले सरकारको लगानी सम्बन्धी निर्णय नभएका निष्कासन प्रक्रिया अघि बढाएको थिएन । कात्तिक १७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारले थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय भएसँगै कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले १६ दशमलव ९२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको शेयर स्वामित्व विद्यमानकै ४४ दशमलव शून्य ३९ प्रतिशत रहने गरी लगानी गरी पूँजी बृद्धिका लागि सहमति प्राप्त भएकाले १ अर्ब रुपैयाँ हकप्रद शेयर लगानीका लागि प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीमा कम्पनीमा नेपाल सरकारको ४४ दशमलव शून्य ४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीमा बाँकी लगानी भने २० बीमा कम्पनीहरूसँगै ग्लोबल आइएमई क्यापिटल, गुहेश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेष्टमेन्ट, ग्लोबल आइएमई बैंक, सुप्रिम सिमेन्ट्स,आइएमई, ग्यान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको समेत लगानी रहेको छ ।
पछिल्लो समय पुनर्बीमा कम्पनीहरुमा बीमा दाबी बढ्दै जाँदा कम्पनीको चुक्तापूँजी बृद्धि गर्न दबाब सिर्जन भैरहेको थियो । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले जारी गर्ने बीमाङ्क रकमको कम्तिमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाका कारण पनि नेपाल पुनर्बीमा कम्पनीलाई पूँजी बढाउने दबाब परेको हो ।
यस कम्पनीले आर्थिक वर्ष ०७९/८० सम्मको मात्र वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६।७७ देखि लाभांश वितरण गरेको कम्पनीले चार आर्थिक वर्ष निरन्तर लाभांश वितरण गरेको देखिन्छ । पहिलो वर्ष १९ प्रतिशत, दोस्रो वर्ष ५ दशमलव २६ प्रतिशत, तेस्रो वर्ष ५ प्रतिशत र चौथो वर्ष ५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीको तथ्याङ्क छ । पछिल्लो वित्तीय विवरणका रुपमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिसम्म कम्पनी ५ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । त्यस अवधिसम्म कम्पनी ४३ रुपैयाँ ५१ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २० पैसा छ ।

