Ad
शनिबार, १२ मंसिर २०८३ | ४:०९ AM
शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

लगानीबक्स सम्वाददाता १९ कार्तिक २०८३ ४:३३ अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा। मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा सुरक्षा निकायका प्रमुखहरूले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न अपनाइएका उपाय तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। सो अवसरमा प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई सुदृढ बनाउन निर्देशन दिएका छन्।

त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त तथा प्रभावकारी बनाउन पनि उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नागरिकको सुरक्षा र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा निकायहरूलाई थप जिम्मेवार र सक्रिय बनाउने उद्देश्यले उक्त ब्रिफिङ तथा निर्देशन दिइएको हो।